बृहत् नागरिक आन्दोलनले जेनजीको पक्षमा समर्थन, प्रतिक्रान्ति रोक्न सडक संघर्षमा उत्रने चेतावनी


काठमाडौँ । जेनजी आन्दोलनको पक्षमा बृहत् नागरिक आन्दोलन खुलेर उभिएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनले जेनजीको बलिदानीलाई टेकेर राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र भइरहेको भन्दै त्यसलाई प्रतिक्रान्ति करार गरेको छ र त्यसविरुद्ध सडकमै उत्रन तयार रहेको घोषणा गरेको छ।

“जेनजी आन्दोलनका शहीदहरूको बलिदानी गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने वा सेनाको असंवैधानिक सक्रियता बढाउने उद्देश्यका लागि थिएनन्। तर अहिले भइरहेको गतिविधिले यही खतरा देखाएको छ। यो प्रतिक्रान्तिलाई परास्त गर्नु तत्कालको सबैभन्दा ठूलो चुनौती हो,”विज्ञप्तिमा भनिएको छ।

आन्दोलनले जेनजीको आन्दोलनमा सुरुमा घुसपैठ गरेर नागरिक र निजी सम्पत्तिमा क्षति पुर्याउने तत्त्वहरू अहिले सैनिक मुख्यालयमा बसेर वार्ता गरिरहेको दाबी गरेको छ। नेपाली सेनाको भूमिका खेदजनक रहेको भन्दै तत्काल सच्याउन आग्रह गरिएको छ।

विज्ञप्तिमा काठमाडौं महानगरका मेयर बालेन शाहलाई समेत प्रतिक्रान्तिकारीहरूसँग सहकार्य गरेको वा सेनालाई नागरिकमाथि उभिन प्रेरित गरेको प्रमाणित भए उनलाई “प्रतिक्रान्तिका नायक”का रूपमा चिन्न चेतावनी दिइएको छ।

“जेनजी भाइबहिनीहरूले सहयोग मागिरहेका छन्। त्यसकारण नागरिक, राजनीतिक, पेशागत र विभिन्न समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको सल्बलाहट परास्त गर्न फेरि जेनजीहरूले सडकमा जानुपर्ने अवस्था देखिएको छ र उनीहरूको नेतृत्वमा हामी पनि सडकमा उत्रन तयार छौं,” विज्ञप्तिमा भनिएको छ।

आन्दोलनले २०७२ को संविधानलाई प्रतिक्रान्ति रोक्ने सबैभन्दा बलियो आधारको रूपमा व्याख्या गर्दै त्यसमा अडिग रहन सबैलाई आह्वान गरेको छ। संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा मात्रै आगामी छलफल र कार्यक्रमहरू हुनुपर्नेमा जोड दिइएको छ। सेनाले तत्काल प्रतिक्रान्तिकारीहरूसँगको सम्पर्क र अन्तरक्रिया बन्द गर्नुपर्ने माग पनि गरिएको छ।

बृहत् नागरिक आन्दोलनले बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारी तत्वहरूको कुनै स्थान नहुने सुनिश्चित गर्नुपर्ने बताउँदै जेनजीलाई जस्तोसुकै साथ दिन तयार रहेको स्पष्ट पारेको छ।

“जेनजी क्रान्तिलाई सफल बनाऔं, प्रतिक्रान्तिलाई परास्त गरौं, शहीदको बलिदानलाई सार्थक बनाऔं,” विज्ञप्ति मार्फत बृहत् नागरिक आन्दोलनले आह्वान गरेको छ।