सर्वोच्च अदालतले भदौ २९ देखि अदालत संचालन पुनः सुरु गर्ने निर्णय


काठमाडौं । सर्वोच्च अदालतले हालैको हिंसात्मक घटनापछि आइतबारदेखि देशभरका अदालतहरुमा सुनुवाई र वन्दी प्रत्यक्षीकरण कार्य पुनः सुरु गर्ने निर्णय गरेको छ।

अदालतका अनुसार भदौ २४ गते देशका विभिन्न अदालत भवनमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड तथा लुटपाटले अदालतका महत्वपूर्ण दस्तावेज, उपकरण, सवारीसाधन र अन्य भौतिक स्रोतमा व्यापक क्षति पुगेको छ।

सर्वोच्च अदालतले घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका सबै नेपाली नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

अदालतले संविधानले न्यायपालिकालाई दिएको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति सुनिश्चित गर्न प्रत्येक परिस्थिति र चुनौतीबीच पनि न्यायको मार्गमा अविचल रहन प्रतिबद्धता व्यक्त गरेको छ।

यसैबिच, आगजनीबाट जोगिएका मिसिल कागजात र अन्य भौतिक स्रोतको संरक्षणमा खटिएका न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, कानूनका विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति अदालतले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको हस्ताक्षरसहित जारी विज्ञप्तिमा अदालतले यथाशीघ्र सुरक्षित र नियमित न्याय सेवा सञ्चालनमा ल्याउने प्रतिवद्धता दोहोर्याएको छ।

साथै, घटनामा घाइते भएका सबै नेपाली नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको अदालतले जनाएको छ।