जेनजी आन्दोलनमा स्थानीय सरकारका महासंघहरूको समर्थन, तोडफोड र आगजनीप्रति भर्त्सना


काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै हालै भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।

विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

तीनवटै संस्थाले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र युवाहरूको शासनमा सहभागिता जस्ता जायज मागलाई समर्थन गरेका छन्। तर आन्दोलनको नाममा भएको अवाञ्छित घुसपैठ, सरकारी कार्यालय, ऐतिहासिक धरोहर, राष्ट्रिय दस्तावेजमा आगजनी, तोडफोड र जनप्रतिनिधिहरूमाथि गरिएको अमानवीय व्यवहारप्रति खेद व्यक्त गर्दै यस्ता गतिविधिको भर्त्सना गरिएको छ।

विज्ञप्तिमा स्थानीय सरकारका भवन, सवारीसाधन, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति र उद्योग व्यवसायमा क्षति पुर्‍याउने, जनप्रतिनिधिलाई धम्की दिने जस्ता घटनाप्रति चिन्ता व्यक्त गरिएको छ। साथै सम्पत्ति तथा दस्तावेजको सुरक्षा सुनिश्चित गर्न, नागरिक र जनप्रतिनिधिको ज्यान तथा सम्पत्तिको रक्षा गर्न र निर्वाध सेवा प्रवाह गर्न राष्ट्रपतिसहित सुरक्षा निकायलाई आग्रह गरिएको छ।

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएको उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक अन्योल अन्त्य गरी संविधानसम्मत र विधिप्रणालीको आधारमा मात्र मुलुकलाई निकास दिनुपर्नेमा जोड दिइएको छ।