काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई असफल बनाउन केही घुसपैठियाहरू सक्रिय रहेको आरोप लगाएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले ‘जेन–जी’ आन्दोलन लोकतन्त्रको अन्त्य गर्ने होइन, बरु यसलाई अझ जनपक्षीय बनाउन उभिएको स्पष्ट पारे। तर, केही घुसपैठियाले आन्दोलनको नाममा अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउन खोजेको दाबी उनले गरेका छन् ।
उनले जेन–जी पुस्ताको माग संविधान खारेजी वा संसद विघटन नभएको उल्लेख गर्दै लोकतन्त्र विरोधी शक्तिहरूले यही मौकामा त्यसतर्फ धकेल्ने प्रयास गरिरहेको बताए ।
‘‘लोकतन्त्रविहिन अवस्थामा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र मौलिक अधिकारहरू खोसिन्छन्,’‘ भन्दै उनले सचेत हुन आग्रह गरे ।
नेपालले भ्रष्टाचारविरुद्ध उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिने सुझाव दिँदै आफ्नो पार्टीले पहिलेदेखि नै यस्तो माग उठाउँदै आएको स्मरण गरे ।
संविधान संशोधनमार्फत जेन–जी पुस्ताको माग सम्बोधन गर्न सकिने उल्लेख गर्दै उनले छिट्टै निर्वाचनमा गई ताजा जनादेशमार्फत मुलुकलाई अघि बढाउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस्