स्याङ्जामा कर्फ्यू आदेश, आज साँझदेखि भोलि बिहानसम्म आवतजावतमा प्रतिबन्ध


काठमाडाैँ । स्याङ्जा जिल्लामा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिअनुसार कर्फ्यू आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार उक्त अवधिभर जिल्लाभर आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।

कर्फ्यूको अवधिमा भने अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी तथा कुटनीतिक नियोगका सवारी साधनमा कुनै अवरोध नहुने प्रशासनले स्पष्ट पारेको छ। यस्तै, हवाई टिकट देखाउने यात्रुहरूको आवतजावतमा पनि सुरक्षाकर्मीमार्फत सहजता गरिने जनाएको छ।