दाङ । लुम्बिनी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
काठमाडौँसहित देशभर भएका विरोध प्रदर्शन र अशान्तिपूर्ण गतिविधिपछि शान्ति–सुरक्षाका लागि प्रशासनले लगाएका कर्फ्यू हटेकाे छ भने निषेधाज्ञा विस्तारै खुकुलो बनाउँदै लगिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार आज भदौ २७ गते बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । कर्फू आदेश भने हटाइएकाे छ ।
रुपन्देहीमा भने कर्फ्यू अझै यथावत छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार भदौ २४ गते बेलुकी ८:३० बजेदेखि लागू गरिएको कर्फ्यू आदेश अर्को सूचना नभएसम्म कायम रहनेछ ।
प्रदेशका अन्य जिल्लामा भने संघीय सरकारले तोकेको तालिका अनुसार कर्फ्यू र निषेधाज्ञा लागू भइरहेको छ। तालिका अनुसार दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यद्यपि अत्यावश्यक कामका लागि आवागमनमा कुनै रोकटोक नगरिएको स्थानीय प्रशासनले जनाएको छ। औषधि उपचार, खाद्यान्न आपूर्ति, आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई सहज आवागमनको व्यवस्था गरिएको छ।
प्रदेशका पहाडी जिल्लाहरूमा भने अवस्था सामान्य रहेको र निषेधाज्ञा तथा कर्फ्यूको खासै प्रभाव नपरेको प्रशासनले जनाएको छ। दैनिक जीवन सहज हुँदै गएकाले बजार, यातायात र सामान्य कामकाज पनि बिस्तारै खुल्न थालेका छन्।
प्रशासनले स्थिति सामान्यतर्फ फर्किरहेको भए पनि शान्ति–सुरक्षा कायम गर्न सतर्कता भने जारी राख्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्