काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी प्रसाद अर्यालले पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किएको विषयमा उत्पन्न भएको विवादप्रति प्रतिक्रिया दिएका छन्। उनले आफू प्रत्यक्ष साक्षी रहेको र पत्र बुझ्ने जिम्मेवारी पनि आफूमै परेको भन्दै पत्र फेक नभइ, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्ने बताएका हुन् ।
अर्यालका अनुसार सच्याइएको मितिमा नै हस्ताक्षर र छाप रहेको र कम्प्युटरमा अघिल्ला पत्रका विवरण नहटाइएका कारण भ्रम सिर्जना भएको हो। उनले भने, “गृहमन्त्रालय लगायतका सुरक्षा निकायसँग समन्वय गर्ने म हुँ, सभापतिज्यूलाई यसबारे कुनै जानकारी छैन। कोही भ्रममा नपर्नुस्, कारागारले नै उहाँलाई निकाल्न आग्रह गरेको हो। सभापतिज्यूले पत्र माग्नुभयो, हामीले समन्वय गर्यौँ।”
उनले ढिलो गरी ननिकालिएको भए ठूलो क्षति हुने सम्भावना रहेको भन्दै कारागार प्रशासनले पनि यो स्वीकार गरेको दाबी गरे। अर्यालले भने, “१० मिनेट ढिलो भएको भए श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो। दुनियाले देखेको छ, उहाँ भाग्नुभएको होइन। हामी निरन्तर सुरक्षा निकायसँग समन्वयमा छौँ।”
उनले आज पनि सभापति लामिछाने कारागार फर्किन निस्किएको तर आफूले पहिले सिडिओ र जेलरसँग अवस्था बुझ्ने जिम्मा लिएको बताए। “कारागारमा ठूलो क्षति भएकाले सुरक्षा चुनौती कायम छ। सभापतिको सुरक्षा अहिले पनि मेरो लागि पहिलो प्राथमिकता हो। हाम्रो वा सभापतिज्यूको कुनै गल्ती कमजोरी छैन,” उनले भने।
अर्यालले भने, “सबै संयन्त्रसँग समन्वयमा बसेको मान्छेलाई बदनाम गर्नु मिल्दैन। मुलुकको अवस्था जटिल छ, त्यता ध्यान दिनुपर्छ, व्यक्तिको बदनामीमा नलागौं।”
प्रतिक्रिया दिनुहोस्