जेन–जी भन्छन्: अब हामी विदेश जान नपरोस्


काठमाडाैँ । जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ ।

जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् ।

मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए ।

उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए। उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्नसक्ने विश्वास समेत व्यक्त गरे। 

वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । तत्कालका लागि मुलुकको संकट टरेको भएपनि भविष्यमा आउनसक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ । 

अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक संकेत संकेत भएको बताए। उनले युवाहरूको क्रान्तीको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ । 

नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेकी छन् । साथै फागुन २१ गते बिहीवारका दिन नयाँ प्रतिनिधि सभा चुनावको मिति तोकिएको छ ।