रुपन्देही । देशकै दोस्रो ठूलोमा गनिने भैरहवा भन्सार नाका जेन-जी आन्दोलनका कारण ध्वस्त भएपछि व्यवसायीहरूले ठूलो संकट भोग्नुपरेको थियो । तर, अस्थायी टेन्ट टाँगेर भन्सार सेवा सुरू भएपछि आयात–निर्यातका काम पुनः गतिमा आउन थालेका छन् ।
भदौ २४ गतेको तोडफोड र आगजनीले भन्सार कार्यालय पूरै क्षतिग्रस्त बनेपछि करिब एक सातासम्म सबै कारोबार रोकिएका थिए ।
आयातित सामान सीमा क्षेत्रमा थन्किन बाध्य हुँदा व्यापारीहरूमा थप आर्थिक बोझ पर्न पुगेको भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले बताए । ‘‘कार्यालय ध्वस्त हुँदा हामीले निकै समस्या भोग्यौं, तर टेन्टबाट भए पनि काम सुरु भएपछि राहत पाएका छौं,’‘ उनले भने ।
भन्सार प्रमुख शिवलाल न्यौपानेका अनुसार डिजिटल प्रणाली बिग्रिएपछि ल्यापटपमार्फत म्यानुअल जाँचपास प्रक्रिया अघि बढाइएको छ । ‘‘हामीले कम्तिमा अत्यावश्यक सामानको आवागमन अवरुद्ध नहोस् भन्ने प्राथमिकता दिएका छौं,’‘ उनले बताए ।
भैरहवा नाका भारतसँगको प्रमुख व्यापारिक मार्ग भएकाले यहाँ सेवा बन्द हुँदा मुलुककै आपूर्ति प्रणाली प्रभावित भएको थियो । अब अस्थायी टेन्टबाट भए पनि सेवा निरन्तर चल्ने भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्