काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई अमानवीय र वर्वतापूर्ण भन्दै भत्र्सना गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी प्रेस वक्तव्यमा आन्दोलनको क्रममा देउवा दम्पतीमाथि भएको भौतिक आक्रमणप्रति आपत्ति जनाइएको छ। “लोकतन्त्रका लागि जीवन पर्यन्त संघर्ष गरेका आदरणीय सभापति शेरबहादुर देउवा र पार्टी नेतृ डा। आरजु राणा देउवा माथि भएको अमानवीय आक्रमण निन्दनीय मात्र नभई भत्र्सना योग्य छ,” वक्तव्यमा भनिएको छ ।
कांग्रेसले उपचाररत देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, आक्रमणमा घाइते भएका अन्य नेताहरू, कार्यकर्ताहरू र नागरिकहरूप्रति पनि सहानुभूति व्यक्त गरेको छ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनदेखि विभिन्न संस्था र निजी घरमा भएको आगजनी तथा तोडफोडलाई पनि अकल्पनीय, दुःखद र निन्दनीय बताइएको छ। कांग्रेसले सरकारलाई क्षतिको वास्तविक मूल्याङ्कन तत्काल सुरु गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्