जेन जी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छः सुदन गुरुङ


काठमाडाैँ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोली (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत दिएका हुन्।

पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उनले सो प्रतिक्रिया दिए। 

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । शहीद प्रविण कुलुङका दिदी अनिता कुलुङले सो आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्री कार्कीसँग माग गरे। 

सरकारले आजै सो आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा गरी उनीहरुलाई जनही १० लाखका दरले क्षतिपुर्ति दिने निर्णय गरिसकेको छ ।