काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सिबिफिनले बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन नवगठित सरकारसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रबिद्धता व्यक्त गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, “अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको जनाएको छ ।
साथै, गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पु¥याउने तत्वहरुसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
पछिल्लो पुस्ता “जेन–जी” अभियन्ताहरूको आह्वानमा भएको आन्दोलनको क्रममा देखिएका दुखद् एवं त्रासदीपूर्ण घटनामा अमूल्य जीवन अर्पण गरेका होनहार युवाहरुप्रति उच्च सम्मानसहित कर्तव्य पालनाका क्रममा जीवन गुमाएका सुरक्षाकर्मी तथा दिवंगत सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, आफ्ना सन्ततीको वियोगमा शोकाकुल परिवारजनामा गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरुको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनको क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति बैंक सिबिफिनले दुःख प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्