संसद सचिवालयद्वारा आगजनीपछि हराएका सामग्री फिर्ता गर्न आग्रह


काठमाडाैँ । संघीय संसद सचिवालयले हालै नयाँ बानेश्वरस्थित संसद भवनमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनापछि अनधिकृत रूपमा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ।

सचिवालयले स्थलगत अनुगमन र विभिन्न स्रोतबाट प्राप्त सूचनाअनुसार टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, अन्य विद्युतीय उपकरणलगायतका सामग्री हराएका वा लगेकाे तथ्य पत्ता लागेको जनाएको छ।

उक्त सामग्री कसैको कब्जामा भएमा तत्काल सचिवालयमा फिर्ता गर्न र ती सामग्री राखिएको स्थान वा संलग्न व्यक्तिको विवरण भएमा जानकारी दिन अनुरोध गरिएको छ। साथै, यससम्बन्धी भिडियो वा प्रमाण उपलब्ध गराएमा सहयोग पुग्ने जनाइएको छ।

सचिवालयले प्राप्त सूचनादाता वा भिडियो उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिने स्पष्ट पारेको छ।