काठमाडौँ । ऊर्जामन्त्रीमा नियुक्त भएपछि कुलमान घिसिङको स्वागतमा उस्थित नभएको भन्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको खोजी भयो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेर शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक बनाएको थियो । बर्खास्त भए पनि जेनजी आन्दोलनपछि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ ऊर्जामन्त्री बनेर सिंहदरबार छिरेका छन् ।
प्राधिकरणमा रहँदा दुबैजना प्रतिस्प्रधि जस्ता देखिएकाले अब के हुन्छ ? भन्न प्रश्न समेत उठेको छ । कतिपयले मन्त्री घिसिङले शाक्यलाई बर्खास्त गर्न सक्ने आकलन समेत गरेका छन् । शाक्य ऊर्जामन्त्री घिसिङको स्वागतमा नदेखिएकाले समेत थप कौतुहुलता जागेको देखिन्छ ।
कतिपयले शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको समेत टिप्पणी हुने गरेको छ ।
नवनियुक्त ऊर्जामन्त्री घिसिङको स्वागतमा शाक्य उपस्थित नहुनुको कारण चाहीँ उनी विदेशमा रहेको खुलेको छ ।
प्राधिकरण स्रोतका अनुसार शाक्य कार्यक्रममा दक्षिण कोरिया गएका छन् ।
तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासहित विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसहितको टोली फ्रान्सको पेरिसमा कार्यक्रमका लागि पुगेको थियो ।
पेरिसपछि तत्कालीन ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक शाक्य दक्षिण कोरियाको कार्यक्रममा सहभागि हुने तय भएको थियो ।
सरकार ढलेपछि निवर्तमान मन्त्री खड्का फर्किए भने कार्यकारी निर्देशक शाक्यमात्रै दिल्ली हुँदै कार्यक्रमका लागि कोरिया गएका हुन् । उनी तीन दिनपछि नेपाल फर्कने र शुक्रबारदेखि कार्यालय आउने प्राधिकरण स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा शाक्यको घरमा समेत तोडफोड र आगजनी भएको छ ।
प्रतिक्रिया दिनुहोस्