काठमाडाैँ । नेकपा (एमाले)का नेताहरूले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् ।
मंगलवार पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेको सचिव गोकर्ण बिष्टले बताए ।
उनले अधिकांश सार्वजनिक संरचनाहरु पूर्णरुपमा ध्वस्त अत्यन्तै दुःखद् भएको बताए । सिंहदरबारको भवनसहित महत्वपूर्ण ऐतिहासिक दस्तावेज समेत ध्वस्त भएको हुनसक्ने उनको अनुमान छ ।
उनले सार्ववजनिक संरचनामा आगजनी र तोडफोड गर्ने जेनजी पुस्ताको चाहाना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको आशंका गरे। उनले घटनाको सत्यतथ्य छानविन गरी तोडफोड र आगजनीमा संलग्नहरूलाई आवश्यक कारबाही गर्न समेत माग गरे ।
सचिव बिष्टले आन्दोलनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त समेत गरे । उनले युवा पुस्ताको चाहनाअनुसार राजनीतिक दलहरू परिमार्जन हुने कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्