कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि


काठमाडौँ । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा ‘जेनजी आन्दोलन’का कारण हिंसात्मक परिस्थितिमा स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले मंगलबार संशोधित नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब मौका परीक्षा यही असोज ७ र ८ गते सञ्चालन हुने भएको छ ।

असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ । सो दिन एक विषयमा मात्र परीक्षा दिने विद्यार्थीका सबै विषय, साथै दुई विषय दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयहरूमध्ये सानो कोड भएको विषयको परीक्षा हुने बताइएको छ । अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ ।

यस्तै असोज ८ गते दुई विषय दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । तर यस दिन अंग्रेजी विषयको परीक्षा भने हुने छैन । अंग्रेजी विषयको परीक्षा पहिलो दिन अर्थात असोज ७ गते नै हुने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले तालिका सार्वजनिक गर्दै परीक्षा सुचारु गर्न आवश्यक तयारी पूरा भएको जनाएको छ ।