काठमाडौँ । दसैँको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको संख्या अत्यधिक बढ्ने गर्दछ। यातायात विज्ञ आशिष गजुरेलले गरेको अध्ययन अनुसार एकदिनमा गोंग्गाबू बस पार्कबाट दैनिक रूपमा काठमाडौँका विभिन्न मार्गमा ४०० ठूला बस, कोटेश्वरबाट ९०० बस र माइक्रो, बल्खुबाट ७००, चाहबिलबाट २००, कलंकीबाट ३०० र अन्य मार्गबाट करिब ५०० बस सञ्चालनमा छन्।
सामान्य अवस्थामा काठमाडौँबाट जिल्लातिर जाने यात्रु सवारीकाे संख्या करिब ३हजार हुन पुग्ने गजुरेलकाे अनुमान छ ।उनका अनुसार यदि प्रति बसमा २५ जना यात्रु बोक्ने अनुमान गरियो भने, दैनिक क्षमता करिब ७५ हजार यात्रु व्यवस्थापन गर्न सकिन्छ।
तर दसैँको समयमा मात्र एक हप्ताभित्र करिब १५ लाख मानिस काठमाडौँबाट बाहिरिने अनुमान गजुरेलकाे छ। गजुरेलका अनुसार घटस्थापना पछि यात्रुहरू घर जाने संख्या १ लाख ५० हजारभन्दा बढी छ भने फूलपातीको अघिल्लो दिनसम्म करिब ३ लाख पुग्छ। यस अनुसार अहिलेको बस र माइक्रोको संख्या यात्रु आवश्यकतालाई पूरा गर्न पर्याप्त छैन।
यस समस्या समाधान गर्न गजुरेलले केही बैकल्पिक उपाय सुझाएका छन्। दसैँकाे समयमा नयाँ बस किन्ने सम्भावना नभएकाले, नेपाल प्रहरी, सेना, सरकारी निकाय र निजी स्कुल–कलेजका बसहरू प्रयोग गर्न सकिन्छ। यी बसहरूलाई यात्रु सुरक्षा र चालकको दक्षता जाँच गरी न्यूनतम शुल्कमा सार्वजनिक यातायातसँग जोड्न सकिने बताइएको छ।
साथै, टिकट बुकिङ डिजिटल माध्यमबाट व्यवस्थित गर्न सकिने, कार्यालयहरूले छुट्टै छुट्टी तालिका बनाएर यात्रा चाप कम गर्न सकिने र फूलपातीदेखि विदाको अवधिमा यात्रुहरूलाई व्यवस्थित रूपमा बाहिर पठाउने योजना बनाउन सकिने सुझाब पनि दिइएको छ।
गजुरेलले भने, “यी सुझावहरू लागू गर्न प्रारम्भिक रूपमा सम्बन्धित निकायहरूले सकारात्मक दृष्टिकोण अपनाउनु आवश्यक छ। नत्र जनता असुविधामा पर्ने जोखिम रहन्छ। दसैँमा सुरक्षित, सहज र व्यवस्थित यातायात सुनिश्चित गर्न यो पहल महत्वपूर्ण कदम हुने आशा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्