मन्त्रीहरूले गरे क्षतिग्रस्त मन्त्री निवासको निरीक्षण,पुनर्निर्माण तथा मर्मतको लागि आवश्यक निर्णय गर्ने


काठमाडाैँ । अन्तरिम सरकारका तीन मन्त्रीहरुले भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिको मूल्याङ्कन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गरेका हुन् ।

करिब एक अर्बको लागतमा बनेको निवासहरू भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले क्षतिग्रस्त भएको थियो । सो दिन जेनजी पुस्ताका हजारौँ युवाले राजधानीमा आयोजना गरेको प्रदर्शनमा मन्त्री निवास नजिक पुगेपछि केही समूहले निवासको गेट, सिसा र सुरक्षा संरचनामा तोडफोड गरेका थिए ।

मन्त्रीहरूले निरीक्षणको क्रममा क्षतिको विवरण संकलन गर्दै त्यसको पुनर्निर्माण तथा मर्मतको लागि तुरुन्त आवश्यक निर्णय गरिने बताए ।