काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरूलाई कमजोर पार्ने दुष्प्रयास भइरहेको आरोप लगाएका छन् ।
बिहीवार स्व.गणेशमान सिंहको २८औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक उपलब्धिहरूलाई सुरक्षित राख्दै संस्थागत गर्नुपर्ने दायित्व राजनीतिक दलहरूको भएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार आम जनताको चाहना अनुसार काम गरेर लोकतन्त्रलाई अझै सबल बनाउनुपर्ने जिम्मेवारी सबै दलहरूको काँधमा छ ।
सिंहले आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, कोईराला निवास, कृष्णप्रसाद भट्टराई आश्रमलगायतका सम्पत्तिमा आगजनी भएको घटना लोकतन्त्रविरुद्धको गतिविधि भएको दाबी गरे ।
उनले यस घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै लोकतन्त्रलाई कमजोर पार्ने गतिविधिप्रति सरकार र दलहरू सचेत रहनुपर्ने चेतावनी दिए ।
“हाम्रो जिम्मेवारी प्राप्त अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर जनताको चाहनाअनुसार अघि बढ्नु हो,” उनले भने, “तर जेन जी आन्दोलनको नाममा ऐतिहासिक योगदान र उपलब्धिलाई मेटाउन खोजिएको छ । यस्तो दुष्प्रयास रोकिनुपर्छ ।”
सिंहले लोकतान्त्रिक प्रणालीमा जनताले असन्तुष्टि जनाएका विषयलाई सुधार गरेर राजनीतिक दलहरूले अघि बढ्नुपर्नेमा जोड दिए । अहिलेको परिस्थितिबाट मुलुकलाई अघि बढाउन नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने समय आएको उनको भनाइ थियो । जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने सन्देश हालको आन्दोलनले दिएको उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्