सिंहले भने: जेन जीको नाममा भएको आगजनी-तोडफोडमा निष्पक्ष छानबिन आवश्यक छ


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोड प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

चाक्सीबारीस्थित आफ्नै निजी निवासमा भएको क्षतिको निरीक्षणपछि बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले ऐतिहासिक चाक्सीबारीलाई लक्षित गरी गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

उनले गणेशमान सिंहको घरलाई राजनीतिक मन्दिरका रूपमा लिने गरिएको भए पनि यसलाई तोडफोड र आगजनी गरेर नष्ट पारिनु अत्यन्त दुःखद रहेको बताए । सिंहले भने, “जेन जीले इतिहास मेटाउन आन्दोलन गरेको होइन, तर जेन जीको आवरणमा आपराधिक मनशाय बोकेका व्यक्तिहरुले यस्तो कार्य गरेका हुन् ।”

उनले २०४६ सालको जनआन्दोलनको सुरुआत चाक्सीबारीबाट भएको स्मरण गर्दै त्यतिबेला प्राप्त उपलब्धिमा यस स्थलले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । तर अहिलेको आन्दोलनका नाममा चाक्सीबारीसहित किसुनजीको आश्रम, विराटनगरस्थित कोईराला निवास लगायत इमान्दार नेताहरू बस्ने घरहरु जलाइएका घटनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने दुष्प्रयास भएको आरोप लगाए ।

सिंहले विधिको शासनलाई बलियो बनाउन विधिअनुसार छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकता दोहोर्‍याए । आन्दोलनमा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवारजनप्रति समवेदना प्रकट गरे ।

उनले भने, “दलहरुलाई कमजोर बनाउन खोजिएको छ तर लोकतन्त्रमा दलहरुको भूमिका अपरिहार्य हुन्छ । मिलेरै देश बनाउनुपर्छ । राज्यविरुद्ध गरिएको यस्तो दुष्प्रयासबाट केही हासिल हुँदैन । आगजनी र तोडफोडको छानबिन स्वच्छ रूपमा होस्, यसले मात्र विधिको शासन सुदृढ हुन्छ ।”