काठमाडौँ । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान)ले पुष्प व्यवसायी तथा उपभोक्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत गुणस्तरहीन फूल, बोटबिरुवा र पुष्पजन्य वस्तुहरूको अवैध बिक्रीवितरण नगर्न आग्रह गरेको छ।
एसाेसिएसनले प्रेस विज्ञप्तिमा गर्दै केही व्यक्तिहरू अनर्गल प्रचारमार्फत स्वास्थ्यकर नभएका र गुणस्तरहीन बोटबिरुवा बिक्री गर्दै आउँदा योग्य व्यवसायीहरूको व्यापारमा नकारात्मक असर पुर्याएको दाबी गरेकाे छ ।
एसाेसिएसनले सबै पुष्प व्यवसायीलाई सभ्य र मर्यादित भाषामा मात्र विज्ञापन गर्न अनुरोध गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम राख्न अपिल गरेको छ। साथै उपभोक्ताहरूलाई पनि भ्रामक प्रचारमा नपरी गुणस्तरीय फूल, बोटबिरुवा र पुष्पजन्य वस्तु मात्र खरिद गर्न सुझाव दिइएको छ।
अवैध रूपमा गुणस्तरहीन फूल बिक्री वितरण गर्ने कार्य उपभोक्ता हित संरक्षण ऐन र अन्य कानुनको उल्लंघन भएकाले सावधानी अपनाउनुपर्ने एसाेसिएसनको चेतावनी छ। एसाेसिएसनले यस्ता गतिविधि निरन्तर भइरह्यो सम्बन्धित निकायमार्फत आवश्यक कानुनी कारबाही अघि बढाइने जानकारी दिएको छ।
एसाेसिएसनले सबै व्यवसायीलाई कानुनको दायराभित्र रहि पुष्प व्यवसाय गर्दै सम्मानित व्यवसायी बन्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्