जेनजी आन्दोलनपछि खुलेको सेयरबजार : पहिलो दिनमै झट्का, अबको सम्भावना के ?


काठमाडाैँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण ठप्प बनेको सेयर बजार एक सातापछि बल्ल आज खुलेको छ ।

बजार खुलेसँगै लगानीकर्ताले राहतको सास फेरेपनि कारोबारको सुरुवातमै झड्का लागेको छ ।

कारोबार सुरु भएको केही मिनेटमै सूचकाङ्क ४ प्रतिशतले घट्दा बजार ‘मार्केट हल्ट’मा पुगेको थियो । त्यसपछि पनि दुई पटकसम्म मार्केट हल्ट हुँदै अन्तत नेप्से परिसूचक ६ प्रतिशतले घटेर आजको कारोबार नै बन्द भयो ।

आज नेप्से परिसूचक १६० अङ्कले घटेर २५११.९१ अङ्कमा झरेको छ ।

यस्तो परिदृश्य नेपाल मात्र होइन, विश्वकै अनुभव रहेको सेयरबजारका जानकारहरू बताउँछन् । राजनीतिक अशान्ति वा विद्रोहपछिको पहिलो दिनहरूमा बजार नकारात्मक प्रतिक्रिया जनाउने हुँदा यसलाई बजारको ‘प्राकृतिक करेक्सन’ मानिने उनीहरूको भनाई छ ।

नेप्सेले भने आफ्नो तयारी नभई नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार बजार खोलिएको जारी सूचनामा स्पष्ट पारेको छ ।

जेनजी आन्दोलन पश्चात देशका प्रशासनिक केन्द्रदेखि व्यापारिक प्रतिष्ठानहरुमा ठुलो क्षति पुगेपछि लगानीकर्ताको मनोबल खस्किएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

रौनियारले भने, “लगानीकर्ताहरू बजारमा प्राविधिक र मनोवैज्ञानिक दुवै किसिमका चुनौती देखेका छन् । पहिलो दिनको गिरावट यसैको परिणाम हो ।”

नियामक निकायको दृष्टि भने फरक रहेको छ । लामो समयसम्म कारोबार ठप्प हुँदा बजारको आत्मविश्वास थप घट्ने सम्भावना हुन्छ । त्यसैले छोटोमध्य अवधिमा नोक्सान देखिए पनि बजार खुल्नु नै दीर्घकालीन रूपमा फाइदाजनक ठहरिने तर्क बोर्डका एक अधिकारीले गरे ।

नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पूँजी बजार केवल लगानीकर्ताको नाफानोक्सानमा सीमित छैन । बैंक तथा वित्तीय संस्थाका कर्जाको ब्याजदरदेखि लिएर सरकारको कर सङ्कलनसम्ममा यसले असर पार्ने गर्दछ ।

लामो समयसम्म बन्द हुँदा धेरै लगानीकर्ताले सेयर बेचेर नगद बनाउन पाएनन् । दसैजस्ता चाडपर्व नजिकिँदै गर्दा आज कारोबार खुल्नुले तत्काल तरलता सजिलो बनाउनेछ ।

सेयर बजारका जानकारहरूका अनुसार, आन्दोलनपछिको पहिलो दिन बजार खुलेसँगै कम्तीमा १ सय अंकभन्दा बढी गिरावट हुने अनुमान पहिले नै गरिएको थियो ।

आजको १६० अङ्कको गिरावटलाई त्यसै अनुसार सामान्य ठान्नुपर्ने उनीहरूको बुझाइ छ ।

विद्रोह वा अस्थिरतापछि बजार खुल्दा प्रारम्भमा झट्का आउनु स्वाभाविक हो तर यसलाई करेक्सनका रूपमा बुझ्नुपर्छ। विस्तारै बजारले आत्मविश्वास पुनः प्राप्त गर्ने उनीहरूको भनाई छ ।

विद्रोहपछिका अन्तर्राष्ट्रिय अभ्यास पनि यही देखाउँछन् । पहिलो चरणमा बजार ओरालो लाग्छ तर केही हप्ताभित्रै स्थिर हुँदै नयाँ उचाइमा पुग्ने सम्भावना बढ्छ।

आज बजार खुल्नुले आइतबारदेखि अझ सहज वातावरण बन्ने अनुमान लगाइएको छ । यदि आइतबार बजार खुल्ने नै भएको भए, दसैँको मुखमा ठुलो करेक्सन देखिँदै लगानीकर्ताको मनोबल थप कमजोर बन्न सक्थ्यो ।

आजकै दिन बजार खुलेपछि करेक्सन प्रक्रिया सुरु भएकोले, चाडअघि लगानीकर्ताले सहज तरलता पाउने अपेक्षा गरिएको छ ।

छोटो अवधिमा बजार अस्थिर देखिए पनि मध्यम र दीर्घकालमा बजारमा सुधार हुने र दशैपछि लगानीकर्ताको मनोबल बलियो बन्दै जाने रौनियारले बताए ।

जेनजि आन्दोलनपछिको पहिलो दिन नेप्से १६० अङ्कले ओरालो लाग्दा लगानीकर्ताको मुहारमा छाया परेको छ ।

विश्वकै अनुभव हेर्दा यस्तो झट्का अस्थायी हुने र विस्तारै बजार आत्मविश्वाससहित अघि बढ्ने देखिन्छ । अर्थतन्त्रसँग जोडिएको पूँजी बजार पुनः सञ्चालन भएको स्वयं सकारात्मक सङ्केत मानिन्छ ।