संविधान दिवसमा ओलीले भने: सार्वभौमसत्तामाथि आक्रमण भयो, संविधानको रक्षा गर्न एकजुट होऔं


काठमाडौँ । संविधान दिवसको अवसरमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै वर्तमान परिस्थितिलाई संवैधानिक र राष्ट्रिय अस्तित्वमाथिको ठूलो आक्रमणका रूपमा चित्रण गरेका छन् ।

ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफैं निर्वाचित संविधानसभाबाट संविधान जारी गरेर लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताको अधिकार स्थापित गरेको दिनलाई संविधान दिवसका रूपमा सम्झनुपर्ने बताए ।

उनले संविधान निर्माणको प्रक्रियामा नाकाबन्दी र सार्वभौमसत्तामाथि परेको चुनौतीलाई जनताले परास्त गरेर ऐतिहासिक दस्तावेज तयार गरेको स्मरण गरे ।

उनले हालै भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि त्यसमा घुसपैठमार्फत् हिंसा मच्चाइएको भन्दै सरकार वा प्रहरीले गोली हान्ने आदेश नदिएको स्पष्ट पारे । ओलीका अनुसार प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन हुन आवश्यक छ । उनले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको शुभकामना व्यक्त गरे ।

संविधानमाथि हाल ठूलो प्रहार भइरहेको दाबी गर्दै ओलीले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामापछि सिंहदरबारदेखि नेपालको नक्सा जलाउनेसम्मका गतिविधि भएको उल्लेख गरे । उनका अनुसार जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, दलका कार्यालय र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण गरेर खरानी बनाइएको छ ।

ओलीले यसका पछाडिका षड्यन्त्रबारे अहिले धेरै नबोल्ने बताए पनि समयले सबै स्पष्ट पार्ने विश्वास व्यक्त गरे । उनले युवापुस्तालाई इतिहास सम्झाउन काजी भीम मल्लको मृत्युदण्डको प्रसङ्ग उठाउँदै असन्तोषलाई गलत दिशामा मोड्दा पछुताउनु मात्र पर्ने चेतावनी दिए ।

उनले भने, “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै यो सङ्कटबाट देशलाई उठाउन र जोगाउन सक्छ।”