बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैनः महासचिव पोखरेल


काठमाडाैँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताएका हुन् ।

कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्ने बताए । जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरूले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता नरहेको बताए । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता भएको जिकिर गरे । नेकपा एमाले र नेपाली काँग्रेसले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउनसके त्यो अधिकारलाई संविधानले नरोकेको जिकिर गरे । 

“लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ । जुन राजनीतिक दलहरु नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो,”उनले भने ।

महासचिव पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्र लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताए।