काठमाडाैँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिनका आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्य समिति समितिको बैठकले सो माग गरेको हो । खर्बौंको सार्वजनिक तथा निजी सम्पती क्षति गरिएको सो घटनाप्रति निन्दा र भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सो आयोग तत्काल गठन गर्न सरकारसँग माग गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको पनि कडा शब्दमा निन्दा गरेको छ ।
सभापति देउवा दम्पतीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । नेपाली काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरूसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने संकल्प पनि गरेको छ ।
नेपाली काँग्रेसले मुलुक चूनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अझै सवल, सुदृढ र एकतावद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्