मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन,बजेटको अभाव हुन नदिने प्रतिबद्धता


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गरेका छन् ।

मन्त्री घिसिङले सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका छन् ।

छलफलमा मन्त्री घिसिङले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।

साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा परिचालन गर्न तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न आग्रह गरे ।

हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगा सम्मको ८.३ किलोमिटर खण्डमा ३९% भौतिक प्रगति भएको छ भने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१% प्रगति भएको छ ।

आयोजनाको समग्र भौतिक प्रगति ४५%छ । टेवा पर्खाल तथा नाली निर्माणको ८०% काम सम्पन्न भइसकेको छ भने करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । तर, सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभाव लगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको छ ।

बजेटको अभाव हुन नदिन आवश्यक पहल गर्ने मन्त्री घिसिङले आश्वासन दिए ।

महानिर्देशक विजय जैशीका अनुसार आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड मात्र विनियोजन गरिएको छ।