बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम हो


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरूले सिंहदरबार जलाउन नसक्ने बताएका छन् ।

नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरूसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताए । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्दै देश नेपालीले नै बनाउनुपर्ने बताए । सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उनको भनाइ छ ।

बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताए । सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताए । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताए ।

अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्दै धेरै देशहरूले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गरे। नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरू कसैले नगर्दिने उनको भनाइ छ ।

सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरूको लहलहैमा लाग्दाको परिणामका रूपमा लिनुपर्ने बताए। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्दै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पती जलाइएको बताए ।

अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पयो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गरे ।