दसैँमा घर फर्किँदा सावधानी अपनाउन मन्त्री घिसिङको अनुरोध


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँकाे अवसरमा यात्रा गर्ने सम्पूर्ण चालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले जीवन र परिवार राष्ट्रका अमूल्य सम्पत्ति भएको स्मरण गराउँदै यात्रामा रमाइलोसँगै सजगता आवश्यक भएको बताए।

मन्त्री घिसिङले चालकलाई गति नियन्त्रणमा राख्न, मदिरा सेवनपश्चात् सवारी नचलाउन, लामो यात्रामा विश्राम लिएर मात्र निस्किन र यात्रुलाई परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यमा पुर्‍याउन अनुरोध गरेका छन्।

त्यसैगरी यात्रुहरूलाई क्षमताभन्दा बढी सवारीमा चढेर जीवनलाई जोखिममा नपार्न, चालकलाई अनावश्यक दबाब नदिई सुरक्षित यात्रामा प्रोत्साहन गर्न र यात्रा क्रममा आवश्यक सुरक्षा तथा सावधानी अपनाउन आग्रह गरिएको छ।

“यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो,”उनले लेखेका छन् । सडक सुरक्षा जीवन सुरक्षासँग जोडिएको भन्दै उनले जीवन सुरक्षा नै परिवारको खुशी र परिवारको खुशी नै राष्ट्रको शक्ति भएको उल्लेख गरेका छन्।