काठमाडाैँ । खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले चाडपर्व लक्षित अनुगमन तिब्र पार्दै गएको छ । नेपालीहरुको महानचाड दशैँ तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुहरु बढेको गुनासाहरु बढेपछि अनुगमन शुरु गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले चाडपर्व लक्षित अनुगमनलाई बढाइएको बताइन् ।
अहिले राजमार्गमा भएका होटेल, रेस्टुरेण्टहरु लगायत बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गत रहेका सातवटा प्रदेशमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु र ती प्रदेशअन्तर्गत रहेका कार्यालयअन्तर्गत रहेका जिल्लास्थित डिभिजन कार्यालयहरुमार्फत भइरहेको छ । अनुगमनबाट निर्देशन दिनेदेखि जरिवानासम्म गर्ने काम भइरहेको उनको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानिर्देशक वैद्यले पानीका जारदेखि दुग्घजन्य वस्तु, खाद्यन्न सम्म नै अनुगमनबाट समस्या देखिएको बताइन् । उनकाअनुसार प्रशोधित पानीहरुमा समस्याहरु छन् । पुराना थोत्रा जारहरु जताततै प्रयोग भइरहेको छ ।
उनका अनुसार रेस्टुरेण्ट होटलहरुले मापदण्ड पूरा नगरेको, दुधमा मिसावट गरिएको, कतिपय खाद्य वस्तुमा बढी रंग प्रयोग गरिएको पछिल्ला अनुगमनबाट पाइएको छ ।
महानिर्देशक वैद्यले भनिन्, “कोतरेको जारमा हामीले त्यो जारलाई किन्नुपर्छ भन्ने छैन नि त । बजारमा अरु पनि विकल्प छ नि । जब उपभोक्ताले रिजेक्ट गरिदिनु भयो समस्या अलि कम हुन्छ र हामीले भेटेको ठाउँमा त्यो जारहरु तोड्ने गरिराख्या छौं । अब होटेल रेस्टुरेन्टमा पुनः प्रयोग हुने तेलहरुमा जथाभावी प्रयोग भइरहेको पायौँ, पहिलाको तुलनामा अलि कम त भाछ, र पनि सबै ठाउँमा खाद्य निरीक्षक अधिकारीहरु पुग्न नसक्ने पनि हुन्छ । दैनिक जाने कुरो पनि भएन । त्यसले गर्दाखेरी यस्तो खालको तेलहरुको एकदमै खराब अवस्थाको तेल छ, जसले गर्दाखेरि त्यहाँ पकाएको खाद्य वस्तु राम्रो हुँदा पनि त्यो तेलले गर्दाखेरि नै बिग्रिने एउटा अवस्था छ ।”
होटेल रेस्टुरेण्टहरुमा सजगता पनि नभएकाेले अझै धेरै पढाउनुपर्ने देखिएकाे उनले बताइन् । रङहरुको प्रयोग अत्यधिक मात्रामा भइराखेको उनले उल्लेख गरिन् । उनले सरसफाइको असाध्यै धेरै समस्याहरु रहेकाे बताइन् ।
“कतिपय ठाउँहरुमा अहिले एकदमै जस्तो स्टेनलेस स्टिलको टेबलहरु, जुन सफा गर्न सक्ने खालको पनि देखिएको छ । कतिपय ठाउँमा वेस्ट म्यानेज गर्नुपर्ने भएपनि त्यो नगर्दाखेरि त्यहीबाट किराहरु, प्रकोपहरु हुने गरेको पायौँ । दुधहरुमा पनि मिसावट भएको धेरै गुनासो छ, फ्याट पुग्या छैन अथवा चाहीँ त्यसमा सुक्ष्म जीवहरुको कुराहरु आइराखेको छ,” उनले भनिन्, “त्यसकारणले त्यो कुरालाई पनि हामी अध्ययन गरिराख्या छौँ । कतिपयमा कहाँ उजुरीहरु पनि आइराख्या छ । र त्यसलाई पनि हामीले, बजारमा अनुगमनको दायरा अल्लि फराकिलो गराएका छौं ।”
जोशीकाअनुसार मुलुक संघीय प्रणालीमा गएकाले तल्लो तहबाट पनि अब अनुगमन हुनसक्ने भएकाले खाद्य स्वच्छता कायम गरिनेछ । उनकाअनुसार २ वर्ष अगाडीसम्म २०२० सालको खाद्य ऐन रहेकोमा विश्व बजारको परिवेशलाई समेटेर गुणस्तर ऐन, २०८१ आइसकेको छ । त्यसले सम्पूर्ण खाद्य श्रृंखलामा नै खाद्य स्वच्छता कायम हुनुपर्ने भनेको छ । ऐनअनुसार विभागले प्रभावकारी हिसाबले काम गर्दै जाने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्