काठमाडाैँ । चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ ।
तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई/तीन लाग्नसक्ने बताइएको छ ।
सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको प्रयोग गर्न सडक विभागले आग्रह गरेको छ । बुधवार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार डोजर प्रयोग गरिएको भएपनि वर्षा भएपछि काम रोकिएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाने तथा फर्कने सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका छन् ।
स्थानीय प्रशासनले चितवन–काठमाडौँ आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभूवन राजपथको बाटोलाई पनि विकल्पको रुपमा प्रयोग गर्न भनेको छ । मकवापनुरको हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्