सरकारको राहत प्याकेजलाई नाडाले गर्‍यो स्वागत, अटोमोबाइल उद्योग पुनर्जीवित हुने आशा


काठमाडौँ । नाडा अटोमोबाइल्स एसाेसिएशन अफ नेपालले सरकारले घोषणा गरेको राहत प्याकेजलाई उद्योग–व्यवसायको आवाज सुनेर अघि बढाइएको सकारात्मक निर्णयको रूपमा स्वागत गरेको छ।

हालै ‘जेन–जेड आन्दोलन’का क्रममा उत्पन्न असामान्य परिस्थितिबाट प्रभावित अटोमोबाइलसहित उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानहरूको अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले सरकारले घोषणा गरेको प्याकेजप्रति नाडाले आभार व्यक्त गरेको हो।

नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी आन्दोलनका कारण गम्भीर रूपमा प्रभावित अटोमोबाइल उद्योगलाई विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो। सरकारको उक्त निर्णयलाई नाडाले निजी क्षेत्रको आवाजलाई कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जाने सरकारको प्रतिबद्धताको स्पष्ट प्रमाणका रूपमा लिएको छ।

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने प्रमुख उद्योग हो। यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गर्ने, कर–राजस्वको महत्वपूर्ण हिस्सा दिने मात्र नभई आधुनिक जीवनशैली र गतिशील अर्थतन्त्रको मेरुदण्ड बनेको छ।

तर हालको आन्दोलनका कारण धेरै शो–रुम, सवारीसाधन, गोदाम र सम्पत्ति क्षतिग्रस्त हुनुका साथै आपूर्ति श्रृंखला अवरुद्ध भएको थियो। यसबाट ग्राहकहरूको विश्वासमा समेत असर परेको अवस्थामा सरकारले घोषणा गरेको प्याकेज उद्योगी व्यवसायीहरूका लागि ठूलो राहत र हौसला बनेको नाडाको भनाइ छ।

सरकारले घोषणा गरेका प्रावधानमा बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी, क्षति भएका सवारी खरिदमा बैंक कर्जामा न्यूनतम ८० प्रतिशत लोन–टु–भ्यालु सुविधा, आयातमा भन्सार तथा अन्तःशुल्कमा छुट, कर कटौतीका व्यवस्था, मौज्दातमा मूल्याङ्कनका आधारमा कर सहुलियत, साँवा तथा ब्याज भुक्तानी अवधि थप, सहुलियत कर्जा उपलब्ध गराउने, रोजगारी जोगाउन ‘पेरोल प्रोटेक्सन स्किम’ लगायतका व्यवस्था रहेका छन्।

नाडाले यी सबै प्रावधानले अटोमोबाइल उद्योगी तथा व्यवसायीलाई प्रत्यक्ष राहत दिने अपेक्षा गर्दै सरकारसँग थप आग्रह पनि गरेको छ।

विशेषगरी लोन–टु–भ्यालु सहजता आन्दोलन प्रभावित व्यवसायमा मात्र सीमित नराखी सम्पूर्ण सवारी साधनहरूमा विस्तार गर्नुपर्ने नाडाको सुझाव छ। यसो भएमा माग पुनर्जीवित हुने, बैंकिङ लगानी प्रवाह बढ्ने, रोजगार सुरक्षित हुने र सरकारकै राजस्व आयमा निरन्तरता रहने नाडाको विश्वास छ।

त्यस्तै, नाडाले दीर्घकालीन रूपमा इभी रोडम्याप, भन्सार प्रणाली सुधार र पूर्वाधार विस्तारतर्फ पनि सरकारले चासो दिनुपर्नेमा जोड दिएको छ। यसले अटोमोबाइल क्षेत्रमा मात्र नभई हरित विकास, ऊर्जा सुरक्षाको मजबुतीकरण र अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्ने मार्ग प्रशस्त गर्ने विश्वास नाडाले व्यक्त गरेको छ।

नाडा अटोमोबाइल्स एसाेसिएशन अफ नेपालले सरकारले घोषणा गरेको प्याकेजलाई उद्योगी व्यवसायीहरूको आवाज सुन्ने सरकारको दृढताका रूपमा लिएर कार्यान्वयनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।