मनसुनजन्य विपद्ः २२ जनाले गुमाए ज्यान, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवक परिचालन


काठमाडाैँ । शुक्रवार रातीदेखि लगातार परेको भारी वर्षापछि पूर्वी नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टका अनुसार हालसम्म २२ जनाको ज्यान गएको छ।

इलाममा मनसुनजन्य विपद्बाट १८ जनाको मृत्यु भएको छ भने उदयपुरमा हाइस दुर्घटनाका कारण एक र रौतहटमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। उदयपुरमा २२ जना सवार हाइस जबरजस्ती खोलामा हालिँदा दुर्घटना भएको थियो। यसमध्ये २१ जनालाई उद्धार गरियो, तर एक जनाको मृत्यु भएको छ।

इलाममा एक गर्भवती महिलाको उद्धार गर्न हेलिकप्टर समेत परिचालित गरिएको छ। गिरेबी खोलामा डुबानमा परेका केही मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय र स्थानीय स्वयंसेवकहरू सक्रिय छन्।

कार्यकारी प्रमुख भट्टले मनसुन अहिले पूर्वतिर सक्रिय रहेको जानकारी दिँदै, बिहानदेखि पानीको मात्रा बढे पनि विस्तारै घटिरहेको बताएका छन्। पाँच ठूला नदीमा अझै बाढीको जोखिम कायम रहेको उनले बताए।

भट्टले लामो दूरीको यात्रा नगर्न र पहिरो तथा बाढीको जोखिम बढेकाले सतर्क रहन सबैलाई अनुरोध गरेका छन्। वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत सेवा पुनःस्थापना प्राथमिकतामा रहने बताइएको छ।