काठमाडौँ । सिंहदरबारमा आगलागी भएको घटनापछि ‘काठमाडौं महानगरको दमकल कहाँ गयो?´भन्ने प्रश्न र `सिंहदरबार जलाउने नै बालेन शाह हुन्न´ भन्ने आरोप सोसल मिडियामा तीव्ररूपमा फैलिएको छ।
ती आरोप र अफवाहको बिचमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले एक लामो स्पष्टीकरण दिएका छन्।
उनले आफू र महानगरको टोलीमाथि लगाइएका आरोपहरू निराधार भएको भन्दै आगो निभाउने, उद्धार र राहत कार्यमा महानगरको टोली दिनरात खटिएको स्पष्ट पारेका छन्।
मेयर शाहका अनुसार भदौ २४ गतेको रात देशमै अराजक अवस्था थियो। “त्यो दिन देशमा सरकार थिएन, न सुरक्षा संयन्त्र चलिरहेको थियो। सवारीसाधन चल्न सक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिन–रात नभनी आगो निभाउन, घाइतेको उपचार, खाना, औषधि, रगत, लास व्यवस्थापन, सरसफाइ र समन्वयमा व्यस्त थियो,”उनले लेखेका छन् ।
उनका अनुसार सिंहदरबारमा आगो लागेपछि दमकल पठाउने प्रयास गरिएको थियो, तर आन्दोलनकारीको भीडका कारण दमकल त्यहाँ पुग्न सकेको थिएन। नेपाली सेनाको दमकल पनि त्यहाँ उपस्थित भए तापनि भीडले काम गर्न नदिएको उनले उल्लेख गरेका छन्। भिड केही शान्त भएपछि साँझ ८:१५ बजेतिर काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको शाहले स्पष्ट पारेका छन्।
शाहले भनेका छन्, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त झनै होइन। काठमाडौँ महानगरको पाँचवटै दमकल र ४४ जनाको टोली तीन शिफ्टमा काम गर्दै थियो। २३ गतेदेखि २८ गतेसम्म महानगरका दमकलले काठमाडौं उपत्यकाभित्र मात्रै ५५ पटक भन्दा बढी आगो निभाएका छन्।”
उनका अनुसार ती दिनहरूमा संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, जिल्ला अदालत, विभिन्न बैंक, प्रहरी वृत, अस्पताल, डाटा सेन्टर, गोदामलगायत स्थानमा दमकलले निरन्तर काम गरिरहेको थियो।
त्यस्तै, शाहले स्वास्थ्य, उपचार र लास व्यवस्थापनमा पनि महानगरले अग्रणी भूमिका खेलेको बताएका छन्। उनका अनुसार संघीय सरकारले निर्देशन जारी गर्नु अघि नै महानगरले सबै अस्पतालसँग निशुल्क उपचारका लागि समन्वय गरेको थियो। “अपरेसन गर्दा अभिभावक नभएका बिरामीहरूको इन्फर्म्ड कन्सेन्ट फर्ममा समेत नगर प्रहरीले हस्ताक्षर गरेर जिम्मेवारी लिएको थियो,” उनले लेखेका छन्।
मेयर शाहले नागरिक र मिडियालाई अफवाहमा नफस्न आग्रह गरेका छन्। उनले भनेका छन्, “बिना तथ्य र डाटा विश्लेषण निष्कर्ष निकाल्ने विश्लेषक र अफवाह फैलाउनेहरूसँग सावधान रहौं। यस्तो कार्यले जनतालाई भ्रममा पार्छ र ज्यानको जोखिम मोल्दै काम गर्ने हाम्रो टोलीको मनोबल घटाउँछ।”
उनले सत्य बुझ्न, हल्ला र झुटबाट टाढा रहन र सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज निर्माण गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्