नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी



काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन्।

विपी काँग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा उनले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताएका हुन् ।

उनले जेन जीको आन्दोलनबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा अघि बढाउन नसके नेपाल विदेशीको क्रिडास्थल हुने खतरा रहेको बताए । अहिले यो पार्टी र उ पार्टी भन्ने र एकले अर्कोलाई आरोप लगाउने समय नभएकाले सबै मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने उनकाे भनाइ छ । नेपालमा भएका सबै शक्तिहरुले एकअर्कालाई जोड्ने शक्तिको पहिचान गर्न जरुरी रहेको उनले उल्लेख गरे।

नेता लोहनीले पार्टी भन्दा देश ठूलो भन्ने सोचेर सबैले कम्परमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्नुपर्ने बताए । नेपाललाई जोड्ने शक्ति राजनीतिक दलहरु र संवैधानिक राजसंस्था रहेको उनकाे भनाइ छ ।