सुन तस्करी प्रकरण: माओवादी नेता महरालाई अदालत उपस्थित गराइयो


काठमाडाैँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

सोमबार अपरान्ह महरालाई जिल्ला अदालतमा उपस्थित गराइएको हो । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । 

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्शन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।