नेपाली विद्यार्थी जोशीको मृत्यु भएकाे हमासले गर्‍यो पुष्टि,आजै शव फिर्ता गर्ने तयारी


काठमाडौँ । हमासले गत वर्ष अपहरण परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। हमासको सैन्य शाखाले आज सार्वजनिक गरेको सूचनामा जोशीसहित चार जना मृतक बन्धकको नाम प्रकाशित गरेको छ।

हमासका अनुसार फिर्ता गरिन लागेका शवहरूमा नेपाली नागरिक विपिन जोशीका साथै इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्। हमासले यी चार बन्धकहरूको शव आजै इजरायल पक्षलाई बुझाउने तयारी गरेको जनाएको छ।

बीबीसीका अनुसार हमासले आजै रेडक्रसका अधिकारीमार्फत आफ्नो नियन्त्रणमा रहेका २० जना जीवित बन्धकहरूलाई इजरायल समक्ष बुझाइसकेको छ। मृतक बन्धकहरूको अवशेष २८ जना सम्मको हुन सक्ने अनुमान गरिएको छ।

विपिन जोशी सन् २०२३ को अक्टोबर ७ (२०८० असोज २३) मा हमासले गरेको किबुज आलुमिम क्षेत्रको आक्रमणका क्रममा अपहरण परेका थिए। उक्त आक्रमणमा अध्ययनका लागि इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका १६ जना नेपाली विद्यार्थीहरूमध्ये १० जनाको मृत्यु भएको थियो।