काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल विभिन्न जिल्ला तथा क्षेत्रमा केही व्यक्ति वा समूहले प्रधानमन्त्री र सो कार्यालयको हवाला दिँदै परियोजना कोष वा सामाजिक कार्यका नाममा चन्दा तथा आर्थिक सहयोग मागिरहेको बारेमा गम्भीर ध्यानाकर्षण जनाएको छ।
कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्ति वा समूहलाई कुनै पनि शीर्षकमा चन्दा वा सहयोग संकलन गर्न अनुमति नदिएको स्पष्ट गरेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीज्यू वा यस कार्यालयको नाममा चन्दा वा सहयोग संकलन गर्ने कार्य पूर्ण रूपमा अनधिकृत र भ्रामक हुन्। यस्ता गतिविधिमा विश्वास नगर्न र कसैले यस्ता आग्रह गरेमा तत्काल अस्वीकार गर्न सबैलाई अनुरोध गर्दछौँ।”
विज्ञप्तिमा प्रधानमन्त्री वा कार्यालयको नाम दुरुपयोग गरेर चन्दा संकलन गर्ने वा त्यस्तो कार्यलाई प्रोत्साहन गर्ने जो कोहीमाथि कानूनी कारबाही गरिने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि यस्ता कार्य फेला परेमा नजिकको प्रशासन कार्यालय, प्रहरी कार्यालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल जानकारी गराउन अनुरोध गरिन्छ।”
त्यस्तै, नेपाल बाहिर बसेर प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरी कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गरेको जानकारी भएमा सम्बन्धित देशस्थित नेपाली नियोग वा प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।
प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयका नाममा गरिने कुनै पनि आर्थिक संकलन कार्य पूर्ण रूपमा अवैध रहेको र त्यसप्रति सरकार कडाइका साथ अघि बढ्ने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्