प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मंगलबार बिहान परेको उक्त रिटबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिँदै हाल अध्ययनको चरणमा रहेको बताए। उनका अनुसार, प्रतिनिधि सभा विघटनविरुद्ध दुईवटा र सरकार असंवैधानिक रहेको दाबीसहित अर्को एक रिट दायर भएको हो।

“रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ,” प्रवक्ता कोइरालाले भने।

भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा सर्वोच्च अदालत पूर्णरूपमा जलेपछि नयाँ मुद्दा दर्ता रोकिएको थियो। झण्डै ८० प्रतिशत मुद्दाका मिसिल नष्ट भएपछि अदालत तत्काल पुराना मुद्दा अघि बढाउन असमर्थ बनेको थियो।

तर, मंगलबारदेखि सर्वोच्चले नयाँ मुद्दा हेर्ने निर्णय गर्दै काम पुनः सुरु गरेको छ। नयाँ मुद्दा हेर्ने पहिलो दिनमै प्रतिनिधि सभा विघटनसम्बन्धी रिट दर्ता भएको हो।

‘जेनजी आन्दोलन’पछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही रात प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटनको घोषणा गरेका थिए।