प्रर्दशनकारी सिंहदरबार छिर्नुअघि चलेको थियो ४६ राउन्ड गोली,सेनाले प्रष्ट भन्यो,‘मानवीय सुरक्षा महत्वपूर्ण बन्यो’


काठमाडौँ । नेपाली सेनाले सिंहदरबार जोगाउन ठुलो मानीय क्षति हुने अवस्था आएपछि पछाडि हटेको स्पष्ट पारेको छ ।

आज पत्रकार सम्मेलनका क्रममा सेनाले प्रर्दशनकारी सिंहदरबार छिर्नुअघि ४६ राउन्ड हवाई फायर भएको र २ पटकसम्म प्रर्दशनकारीलाई बाहिर निकालिएको स्पष्ट पारेको छ ।

उपरथी अनुपजंग थापाले भने,“ प्रर्दशनकारी छिर्नुअघि ४६ राउन्ड हवाईफायर र दुईदुई पटक मूलगेटबाट छिरेको उत्तेजित भिडलाई भौतिक रुपमा धेकेलेर सम्झाएर बाहिर फकाईएको थियाे । पछि ठुलो सङ्ख्यामा चारैदिशाबाट अत्यन्त आक्रोशित दिशा भित्र छिरेपछि ठुलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने प्रष्ट देखियो ।”

नेपाली सेनाले सिंहदरबार, संसद भवन र राष्ट्रपति निवाससमेत जोगाउन नसकेको भन्दै आलोचना भइरहेका बेला सेनाले मानवीय सुरक्षालाई महत्व दिएको स्पष्ट पारेको हो ।

जेनजी आन्दोलन भएको एकमहिनापछि बोल्दै नेपाली सेनाले आक्रोशित भिड छिरेपछि सेनाले मानवीय सुरक्षालाई प्राथमिकता दिएको प्रष्ट पारेको हो । पत्रकार सम्मेलनमा उपरथी थापाले भने,“त्यसकारण समग्र घटनामा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहल लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षा भन्दा महत्वपूर्ण रहेको बुझाई यहाँहरुलाई अनुरोध गर्दछु ।”

पत्रकार सम्मेलनका क्रममा नेपाली सेनाले भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलन देशभरका ४ सय ८४ स्थानमा भएको जनाएको छ । सेनाकाअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ ।

पत्रकार सम्मेलनमा उपरथी थापाले आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको जानकारी दिए । उनले २ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताए ।

आन्दोलनका क्रममा देशभरबाट १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएको नेपाली सेनाले जनाएको छ ।

सेनाकाअनुसार ८ हजार ७ सय ९९ पक्राउ र फिर्ता भएका छन् । त्यस्तै ९ सय ७८ हतियार लुटिएकोमा ५ सय ८६ हतियार फिर्ता ल्याइएको बताएको छ ।

आन्दोलनका क्रममा मृत्यु भइ टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको उपरथी थापाको भनाई छ ।