ग्लोबल आईएमई बैंक र बीओकेले दिए मर्जर स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन दिएका छन् ।

ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन बुझाएका हुन् ।

कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ मा प्रारम्भिक सहमति तथा २०७९ कात्तिक २८ मा अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मर्जरका लागि सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मसिंर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।