कुकुर तिहार मनाइयो


काठमाडौँ । नेपालीहरूको महान पर्व शुभ दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ ।

आज घरघरमा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।

वैवश्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामासमेत साथ दिएको धार्मिक विश्वास छ ।
वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) ले कुकुरको पूजाआजा सम्पन्न गरेको छ ।
प्रहरी अनुसन्धानमा कुकुरको भुमिका निकै नै महत्वपूर्ण मानिने गरिएको छ । विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ ।

महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराइ पूजा गरेको हो ।

कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तुहरु भेटेमा पहिलो अनुसन्धानमा नै कुकुरको प्रयोग हुन्छ । आफूहरुलाई सघाउने कुकुरहरुको पूजा गर्न पाउँदा खुशी लागेको प्रहरी अधिकृतहरुले बताए ।

महाशाखाका कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोजि तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको छ । यो पटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।