काठमाडौँ । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिदैछ ।
साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको घरघरमा पूजा आराधना गरी लक्ष्मीपूजा गर्ने प्रचलन छ । बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने प्रचलन छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गर्ने चलन छ । यसपटक कुकुुर तिहार र लक्ष्मीपुजा एकैदिन परेको छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्