ऊर्जा पूर्वाधार विस्तारमा तीव्रता : तीन नयाँ प्रसारण लाइन निर्माण अनुमति, २७४ परियोजनामा पहुँच


काठमाडाैँ । देशभर ऊर्जा प्रसारण पूर्वाधार विस्तारमा सरकारले तीव्रता दिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा तीन वटा नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले जनाएको छ ।

सबैभन्दा महत्त्वपूर्ण परियोजनामध्ये एक नलगाड–मैनताडा ४०० केभी प्रसारण लाइन ७५ किलोमिटर लम्बाइको हुनेछ, जसले भेरी करिडोर क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब २,४०० मेगावाट बिजुलीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नेछ । उक्त लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्ने तयारीमा छ ।

त्यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन (४.३८ किमी) र सुपर सर्दी खोला हाइड्रोपावर प्रसारण लाइन (३.६८ किमी) निर्माणका लागि पनि अनुमति प्रदान गरिएको छ । यी प्रसारण लाइनहरूले क्रमशः ४.८ र २.९ मेगावाट विद्युत् प्रणालीमा प्रवाह गर्नेछन् ।

विभागका अनुसार हालसम्म देशभर २७४ वटा साना र ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र जारी भइसकेका छन् । साथै, चालु आवमा मात्र ८ वटा नयाँ प्रसारण लाइन सर्वेक्षणका लागि अनुमति दिइएको छ, जसमा मध्य चमेलिया, दुधकोशी पाँचौँ, समुन्द्रटार–लप्सेफेदी, फालेखु खोला, जानकी सोलार, बेल्डिया सोलार, डाँडाँखेती–बुर्तीबाङ र सानी भेरीजस्ता परियोजनाहरू समावेश छन् ।

विभागले अहिलेसम्म १४४ प्रसारण लाइन सर्वेक्षणका लागि अनुमति प्रदान गरिसकेको छ भने थप २१ प्रसारण लाइनका लागि नयाँ आवेदन दर्ता भएका छन् । तीमध्ये चालु आर्थिक वर्षमै ११ परियोजनाले अनुमति पाउन आवेदन दिएका छन् ।

सरकारका अनुसार आगामी वर्षहरूमा ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावनालाई साकार पार्ने लक्ष्यसहित प्रसारण पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको छ । यो विस्तार योजनाले विशेषगरी भेरी, कर्णाली, सुदूरपश्चिम र गण्डकी करिडोरमा उत्पादित जलविद्युत् देशको राष्ट्रिय ग्रीडमा जोड्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।