काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग सामुहिक छलफल गरेकी छन् ।
विभिन्न राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारओटै सुरक्षा निकायका प्रमुखसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेकी हुन् ।
मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनले भने,“खास गरेर यो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र अरु बाँकी चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभुति दिने कुरामा नै केन्द्रित छौँ । आज विषयवस्तुको सुक्ष्म विश्लेषण भयो । खास गरेर सडक प्रर्दशनसँग सम्बन्धित विषयवस्तुहरू र त्यसले निम्त्याउने सुरक्षा जोखिमका बारेमा हामीले गहन छलफल गरेका छौँ ।”
सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न पनि आग्रह गरिएको गृहमन्त्री अर्यालले जानकारी दिए ।
सरकारले संवादमार्फत राजनीतिक दलहरूको मागको सुनुवाई गर्ने भएकाले सडक प्रर्दशन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताए । उनले भने,“जसका पनि राजनीतिक मागहरू छन् भने सरकारले सम्वादको माध्यमबाट ती कुराहरू सुनिदिन्छ । अब सम्वादका इन्गेज हुनुपर्याे सबै ।”
सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरूलाई आग्रह गरेको छ ।
मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरू सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि गृहमन्त्री अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्