फरार सूचीमा नाम भेटिएपछि मन्त्री सिफारिस सुनारको शपथ रोकिँदै, प्रधानमन्त्री कार्की छलफलमा


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेकी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पदका खगेन्द्र सुनारको नाम विवादमा परेको छ।

उच्च स्रोतका अनुसार, सुनारलाई आज शपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा अहिले प्रधानमन्त्री कार्यालय र सत्तारूढ गठबन्धनबीच गम्भीर छलफल जारी छ। प्रधानमन्त्री कार्कीले सुनारसहित डा। सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्तालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको जानकारी सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो। यसबारे सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ।

स्रोतका अनुसार, विवादका कारण सुनारको शपथ स्थगित गर्ने वा उनको सट्टा नयाँ नाम सिफारिस गर्नेबारे विकल्प खुलेका छन्।

यस्तै अन्य तीन मन्त्रीहरू डा. सुधा शर्मा गौतम (स्वास्थ्य तथा जनसंख्या), गणपति लाल श्रेष्ठ (भूमि व्यवस्था तथा सहकारी) र बब्लु गुप्ता (युवा तथा खेलकुद)का लागि शपथ ग्रहण तयारी भने सुचारु रूपमा भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।