निर्माणाधिन संसद भवनको काम नसकिए राष्ट्रिय सभाको बैठक कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी


काठमाडाैँ । संसद सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको छ । 

एउटा अधिवेशन र अर्को अधिवेशनबिचको अवधि ६ महिना भन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो । भदौ मसान्तबाट ६ महिनाभित्रमा अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको थियो । त्यहाँ बैठक बस्नसक्ने स्थिति छैन । त्यसैले संसद सचिवालयले राष्ट्रिय सभाको बैठक राख्न अर्को ठाउँको खोजि गरिरहेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए ।

उनकाअनुसार राष्ट्रिय सभा स्थायी सभा हो र भदौ मसान्तमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएकोमा त्यसको ६ महिनाभित्रै आह्वान भइसक्नुपर्ने अवस्था छ । अधिवेशन आह्वान भइहालेको अवस्थामा बैठक बस्ने स्थानको अभाव रहेको उनले बताए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनीपछि खण्डहर भएकाले बैठक बस्नसक्ने स्थिति नरहेको उनकाे भनाइ छ । निर्माणाधिन संसद भवनको काम समयमै सकिए नयाँ संसद भवनबाट बैठक सञ्चालन गर्न सकिने नत्र सिंहदरबारस्थित कृषि समितिको सभा हलबाट बैठक सञ्चालन गर्नेगरी छलफल अघि बढेको उनले बताए ।

यसअघि पनि कृषि समितिको हलबाट राष्ट्रिय सभाको बैठक सञ्चालन भएको भएपनि केही व्यवस्थापनमा जोड दिनुपर्ने उनले जानकारी दिए । दर्शक, सञ्चारकर्मी, अडियो, भिडियो कन्फरेन्सको व्यवस्थापन गर्नुपर्ने चुनौति रहेको उनले बताए । 

गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन आगजनी र तोडफोडबाट खण्डहर भएको छ ।

सरकारले संसद अधिवेशन आह्वान गरिसकेको खण्डमा बैठक कहाँबाट सञ्चालन गर्ने भन्नेमा संसद सचिवालय स्थानको खोजी गरिरहेको छ । जेनजी युवाहरुले आन्दोलनका क्रममा संसद भवनसहित, सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, प्रहरी कार्यालयहरुमा आगजनी, तोडफोड गरेका थिए ।