जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था


काठमाडाैँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय पनि गरेकी छिन् । विज्ञहरुको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ ।

उनले भनिन्, “जेन–जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरुबाट वर्कआउट हुन्छ त्यसपछि फेरी तपाईहरुलाई बताउँछु ।”

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै  मन्त्री गौतमले मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न चेतावनी दिइन् ।

उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिइन् । सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न उनले चेतावनी दिएकी हुन् । 

पूर्वस्वास्थ्य सचिव समेत रहेकी उनले तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकार समेत रहेकी थिइन् ।