देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

आइतबार टेलिकमका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका छन् । उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिएका छन् ।

नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु बिडम्वना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन उनको आग्रह छ । टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन उनले निर्देशन दिए । उनले टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए । 

उनले भने, “देशकम अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ । त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पुर्याउनुपर्यो । १ हजार २ सय टावरको टेण्डर किन भएन ? २ सय टावरको टेण्डर प्रक्रिया कहाँ पुग्यो ? बिग्रिएका साइटहरुको मर्मतको सवालमा कहाँ छौं हामी ? प्रतिस्पधी निजी सेवा प्रदायकले एक दिनमै गर्नसक्ने काम हामी महिना दिनसम्म किन गर्न सक्दैनौं ? ग्राहकले कल र डाटा प्रयोग गरेवापत पैसा तिरेको छ । उसलाई गुणस्तरीय सेवा दिनु तपाईंहरुको दायित्व हो । म के भन्छु भने तपाईंको गुनासो सुन्ने शाखा मृतप्राय नराख्नुहोस् है । गुनासो कार्यान्वयनमा जानुपर्यो । यहाँको गुनासो शाखामा आउने गुनासो  मन्त्री र सचिवलाई आउनु भएन । हामी आवश्यक कार्यविधि बनाउँछौं । नेटवर्कले काम नगरेको गुनासो त मन्त्रीलाई आउनु उचित भएन नि । त्यसकारण कभरेज बढाउने कुरामा ख्याल गर्नुहोस् ।”

उनले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउन समेत निर्देशन दिए ।