एनपीएल आजदेखि सुरू हुँदै, उद्घाटनमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै


काठमाडाैँ । नेपालको फ्रेन्चाइज क्रिकेटमा उत्साह र अपेक्षाको नयाँ चरण आजदेखि औपचारिक रूपमा सुरु हुन लागेको छ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज मङ्सिर १ बाट सुरू हुँदैछ, जसले आगामी २७ दिन त्रिवि क्रिकेट मैदानलाई घरेलु टि–२० क्रिकेटको केन्द्रबिन्दु बनाउनेछ।

उद्घाटन दिन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् । दिउँसो ४ बजे शुरु हुने यो खेलले केवल प्रतिस्पर्धा मात्र होइन, नेपाली टि–२० फ्रेन्चाइज प्रणालीको प्रभाव र सम्भावना परीक्षण गर्ने अवसर पनि हुनेछ ।

यसपटकका सबै खेल कीर्तिपुरको त्रिवि मैदानमै आयोजना गरिँदैछ । दिउँसो र रातिको समयमा खेल सञ्चालन गरिनु, लामो समयसम्म निरन्तर भीड व्यवस्थापन र टेलिभिजन प्रसारण सञ्चालन गर्नु क्यानका लागि ठूलो व्यवस्थापकीय परीक्षा बन्नेछ ।

मङ्सिर १ देखि २७ सम्म चल्ने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनल गरी कुल ३२ खेल समावेश गरिएको छ ।

यस सिजनमा नेपालका आठ फ्रेन्चाइज टोलीमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

धेरै टोलीले नयाँ विदेशी खेलाडी भित्र्याएका छन् भने धेरै युवा घरेलु खेलाडीलाई पहिलोपटक ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने मौका मिलिरहेको छ ।

उद्घाटन खेलमा साधारण ५०० र प्रिमियम १५०० रूपैयाँको टिकट राखिएको छ । सामान्य दिनका खेलका लागि ५०० / १००० र प्लेअफ तथा फाइनलतिर जाँदा १००० / २००० को दर तोकिएको छ ।

यसबाहेक, क्यानले १५ हजार रुपैयाँमा सिजनल टिकट पनि उपलब्ध गराएको छ । टिकट दर केही महँगो भएको चर्चाबीच मैदानमा दर्शकको उपस्थिति कति हुन्छ भन्नेले पनि यस सिजनको सफलता–असफलता प्रभाव पार्नेछ ।

एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स पहिलो खेलमा भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

दैनिक दोहोरो खेलको संरचनाले लिगलाई छिटो गतिमा अघि बढाउने भए पनि खेलाडीहरूको फिटनेस र टीम संयोजन परीक्षण हुने निश्चित छ ।