विद्यार्थीको छात्रवृत्ति र खाजाको रकम हिनामिना, प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर


काठमाडाैँ । कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयमा भएको अख्तियार दुरुपयोगको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले दुवै प्रतिवादीले विद्यालयका नाममा प्राप्त सार्वजनिक रकम हिनामिना गरी विद्यालय, विद्यार्थी तथा नेपाल सरकारलाई आर्थिक हानि पुर्‍याएको प्रमाणित भएकाले कानूनी कारबाहीका लागि मुद्दा दर्ता गरिएको जानकारी दिएका हुन्।

अनुसन्धानका क्रममा तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयले आ.व. २०७८\७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्तिका लागि रु. ५१ हजार ६००, दिवा खाजाका लागि रु.२ लाख ४७ हजार ५० र पाठ्यपुस्तकका लागि रु. १ लाख १६ हजार ७२९ विनियोजन पाएको खुलेको थियो। तर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा छात्रवृत्तिको रकम कुनै पनि विद्यार्थीलाई वितरण नभएको, दिवा खाजावापतको रकममध्ये केवल तीन जना विद्यार्थीलाई विद्यालयमै खाजा खुवाइएकामा जम्मा रु.९ हजार ९०० मात्र खर्च भएको र बाँकी रु.२ लाख ३७ हजार १५० खाजा नदिई हिनामिना गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ।

त्यसैगरी पाठ्यपुस्तक खरिद शीर्षकमा विनियोजन भएको रकममध्ये जम्मा रु. १ हजार ७६४ बराबरका पुस्तक खरिद भई त्यही तीन विद्यार्थीलाई मात्र वितरण गरिएको पुष्टि हुँदा बाँकी रु. १ लाख १४ हजार ९६५.८० खर्च नभई बेपत्ता भएको देखिएको आयोगले जनाएको छ। सोही विद्यालयमा कार्यरत एक स्थायी शिक्षकका लागि नागरिक लगानी कोषमार्फत बुझाउनुपर्ने सामाजिक सुरक्षा कर समेत खातामा नजम्हाइएको उजुरी परेपछि थप अनुसन्धान विस्तार गरिएको थियो।

समग्रमा छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तक र सामाजिक सुरक्षा कर गरी कुल रु. ४ लाख ४३ हजार ४३०.७५ रकम प्रतिवादीहरूले व्यक्तिगत स्वार्थका लागि गैरकानूनी रूपमा हिनामिना गरेको ठहर भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो कायम गरी सोही ऐनको दफा ३९१० को देहाय (घ) तथा संशोधन दफा ३(१) को देहाय ९ग० बमोजिम कैद र जरिवाना मागदाबी गरिएको आयोगले जनाएको छ। हिनामिनाभएको सम्पूर्ण बिगो असुल–उपर गरिदिन आग्रह गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।